पाकिस्तानी प्रहरीमाथि थप आक्रमण गर्ने तालिवानकाे चेतावनी
पाकिस्तानको कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिनपछि पाकिस्तानी तालिवान समूहले शनिबार कानून प्रवर्तन अधिकारीहरूमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ ।
तालिवानसँग पाकिस्तानको लडाइँमा प्रहरीलाई प्रायः अग्रपङ्क्तिमा प्रयोग गरिन्छ र अक्सर उनीहरू गैरन्यायिक हत्याको आरोप लगाउने लडाकूहरूको निशानामा पर्छन् ।
गत महिना उत्तरपश्चिमी शहर पेशावरको एक प्रहरी परिसरभित्र रहेको मस्जिदमा एक आत्मघाती आक्रमणकारीले विष्फोटक पदार्थ विस्फोट गराउँदा ८० भन्दा बढी अधिकारीको मृत्यु भएको थियो ।तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले शनिबार अङ्ग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले दास सेनासँगको हाम्रो युद्धबाट टाढै बस्नुपर्छ, अन्यथा उच्च प्रहरी अधिकारीहरूको सुरक्षित आश्रयस्थलमा आक्रमण जारी रहनेछ ।”
विज्ञप्तिमा भनिएको छ, “हामी सुरक्षा निकायहरूलाई फेरि एकपटक चेतावनी दिन चाहन्छौं, निर्दोष कैदीहरूलाई फर्जी मुठभेडमा मारिएका भन्न रोक्नुहोस् अन्यथा भविष्यमा हुने आक्रमणहरूको तीव्रता अझ गम्भीर हुनेछ ।”शुक्रबार साँझ तालिबानको आत्मघाती दस्ताले दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको विशाल प्रहरी कार्यालय परिसरमा आक्रमण गरेपछि एक घण्टा लामो गोली हानाहान भएको थियो ।
आक्रमणमा परी दुई जना प्रहरी अधिकारी, एक जना सेनाका रेन्जर र एक जना सफाइकर्मीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।शहरको मुटुमा कडा सुरक्षा गरिएको परिसरमा दर्जनौं प्रशासनिक र आवासीय भवनहरूका साथै सयौं अधिकारी र उनीहरूका परिवार छन् ।एक वरिष्ठ अनुसन्धानकर्ताले एएफपीलाई प्रारम्भिक अनुसन्धानमा तीनै जना आक्रमणकारी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका भएको थाहा हुन आएको बताए ।