लिबियामा पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु
लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । ८० जना यात्रु सवार जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ७३ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको जनाएको छ ।राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु बोकेको डुङ्गा युरोपतर्फ जाँदै थियो ।
हालसम्म ११ जनाको शव फेला परेको लिबियाली रेड क्रिसेन्ट र स्थानीय प्रहरीलाई उद्धृत गरी आइओएमले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले भनेको छ, “लिबियाको तटीय क्षेत्रमा अत्यन्तै गम्भीर अवस्थामा सात जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा घातक आप्रवासी समुद्री मार्ग हो ।