आन्दोलनरत यातायात मजदुर र सरकार बिच आज वार्ता


आन्दोलनरत यातायात मजदुरसित आज वार्ता गरिने भएको छ । सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो ।

बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।

ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए । सडक अवरुद्ध गरेका थिए ।उनीहरूले प्रहरीका दुई भ्यानमा आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काएका थिए । सडक डिभाइडर र चोकमा प्रहरी उभिने आइल्यान्डलगायत संरचनामा आगजनी गरेका थिए । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । झपडमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका थिए ।

माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *