विपीन कार्कीलाई लिएर ‘भष्मे डन’ घोषणा
चर्चित फिल्म ‘पशुपतिप्रसाद’को सिक्वेल पशुपतिप्रसाद–२ ‘भष्मे डन’ बन्ने भएको छ। फिल्म प्रदर्शनको सातौं वर्ष पुगेको अवसरमा निर्माण टिमले एक कार्यक्रम मार्फत् सिक्वेलको घोषणा गरेको हो।
फिल्मको चर्चित पात्र ‘भष्मे डन’बाट कथा अगाडि बढ्नेछ। लिड रोलमा विपीन कार्की हुनेछन्। सिक्वेलमा सौगातम मल्ल र स्वस्तिमा खड्का पनि थपिएका छन्।
‘पशुपतिप्रसाद’का मुख्य अभिनेता खगेन्द्र लामिछाने भने अब बन्ने सिक्वेलमा छैनन्। उनी फिल्मको लेखक तथा निर्माता रहनेछन्।
फिल्मलाई दीपेन्द्र के खनालले नै निर्देशन गर्नेछन्। फिल्ममा प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा लगायतका कलाकार दोहोरिने छन्। वर्षा शिवाकोटी भने यसमा दोहोरिने छैनन्। त्यसैगरी सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मका निर्माता लामिछानेले यो फिल्म पनि पहिलो जस्तै अर्थपूर्ण र मन छुने बनाउने बताए।