कर्णाली प्रदेशमा सात मन्त्रालय कायम
कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत कर्णाली प्रदेश राजपत्रमा मन्त्रालय समायोजन गरिएको सूचना प्रकाशन गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची १ र २ अनुसार मन्त्रालय हेरफेर गरेको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए।