सबैभन्दा पवित्र गठबन्धन यही हो: डा बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए ।‘प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयौँ, त्यो आउनु पनि पथ्र्यो’, उनले भने, ‘त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइकन देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।’
उनले विकास समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्व दिएको विषय भएकोसमेत उल्लेख गरे । ‘यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला’, उनले भने, ‘कतिपयले कम्युनिष्ट समाजवादी र कांग्रेस माओवादीविपरीत धु्रव चुनावी स्वार्थका लागि आए भन्नेछ त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन्, तर सबैभन्दा पवित्र गठबन्धन यही हो ।’
अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेकोसमेत बताए ।