छवि ओझाले दिए रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना
चलचित्र निर्माता छवि ओझाले अभिनेत्री रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि आइतबार मोरङ ३ मा उमेदवारी दिएकी रेखालाई छविले शुभकामना दिएका हुन् ।
रेखाका पूर्वपतिसमेत छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताएका छन् । रेखाको राजनीतिक यात्रा सफल रहनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
रेखासँगको सम्बन्धविच्छेदपछि छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए । तर, शिल्पासँग पनि सम्बन्धविच्छेद भइसकेको छ ।
“कलिलो उमेरमै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्रकै गौरब बन्न सफल– चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दसौँ वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाको नेतृ– रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ ३ बाट उमेदवारी दर्ता गरेकी छन्,” उनले फेसबुकमा लेखेका छन्, “रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु– तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु । रेखाजी तपाईंलाई जितका लागि अग्रिम शुभकामना ।”