उखु किसानका माग पूरा गर : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग यथाशीघ्र पूरा गरिनुपर्ने भनेका छन्।
सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरूको मिलिभगत र लापरबाहीको सिकार बनेका किसानप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्वान गर्दछु ।’
नेता पौडेलले उखु मिल सञ्चालक र सरकारको मिलिभगत र लापरबाहीको सिकार बनेका किसानको आन्दोलनमा पूर्ण सहानुभूति र ऐक्यबद्धता जनाउँदै उनीहरूको माग सम्बोधन गर्न माग गरेका छन् ।
उखु बिक्रीबापतको रकम चिनी मिलले नदिएपछि सर्लाही, रौतहट र नवलपरासीका सयौँ किसान काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् ।