अझै दुई महिना खुल्ने छैन नयाँ लाइसेन्सको अनुमतिपत्र
झण्डै नौ महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।
नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ । त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ ।
प्रदेशले पनि हतारमा खुलाउनेभन्दा तत्काल स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन् ।
चार महिनासम्म ठप्प भएको सरकारी कार्यालय असारमा मात्रै खुलेका थिए । असारमा यातायात कार्यालयले नवीकरण र वितरण शुरु गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् ।