ओलीसँग रवीन्द्र मिश्रको भेट, दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले भेटवार्ता गरेका छन् । उनलाई भेट्न मिश्र आइतबार साँझ ओली निवास बालकोट पुगेका थिए ।

उनीहरूबीच करिब अढाई घण्टा भेटवार्ता भएको मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘तपाईँ धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ भन्ने आफ्नो प्रश्नमा ओलीले आफू अहिले पनि राती सुत्नुअघि कम्तीमा एक घण्टा पढ्ने गरेको जवाफ दिएको मिश्रले उल्लेख गरेका छन् ।ओलीले ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’ भनेर सुझाव दिएको मिश्रले बताएका छन् ।

भेटको अन्त्यमा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएका एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको तस्बिरसहित उनले फेसबुकमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *