आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
शनिवार बिहान प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रहेको र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा अहिले मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जनाएको छ।
शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, आज राती वाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।