गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट
सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरुलाई ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिएको छ।
नेपाल नागरिक उड्डय प्राधिकरणले भदौ २ गते (बिहीबार) को निर्णयानुसार बिहीबारदेखि नै लागू हुने गरी सोही बमोजिम सम्बन्धित वायुसेवाहरुबाट सेवा शुल्क भुक्तानी लिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
पर्यटन क्षेत्र पुनरूत्थान कार्य योजना, २०७९ अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायतका शुल्कमा दिइएको शत प्रतिशत छुटलाई निरन्तरता दिइएको प्राधिकरणका प्रमुख उसवराज खरेलले बताए ।
त्यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको हो।
सोही अनुरूप, विमानस्थल सेवा शुल्क नियमावली- २०७८ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरूलाई अर्को निर्णय नहुँदासम्म ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट हुने प्राधिकरणले जनाएको छ।