पदाधिकारी टुंगो नलगाइ फेरि सकियो माओवादी बैठक


नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको शुक्रवारको बैठक पदाधिकारी चयन नगरी सकिएको छ। छलफल सकारात्मक भएपनि पदाधिकारीबारे निर्णय नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

पार्टीका पदाधिकारी चयनका लागि माओवादी केन्द्रको स्थायी कमिटीमा केही दिन यता लगातार छलफल भइरहेको छ। बुधवार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता महराले बिहीवार पदाधिकारी टुंगो लाग्ने दाबी गरेका थिए। तर, बिहीवार बैठक नै बस्न सकेन।

माओवादी केन्द्रको महाधिवेशन ७ महिनाअघि सम्पन्न भएको थियो। अपूर्ण केन्द्रीय कमिटी बनाएर सकिएको महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको थियो।

असार २३ गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनुका साथै पोलिटब्युरो गठन गरेको थियो। तर, पदाधिकारीबारे भने त्यतिबेला प्रचण्डले केही समय मागेका थिए। पोलिटब्युरोमा पनि केन्द्रीय कमिटीको बैठकमा विवाद भएको थियो।

माओवादी केन्द्रमा हाल अध्यक्ष प्रचण्ड बाहेकका पदाधिकारी छैनन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहने प्रचण्डले असरमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा बताएका थिए।

महासचिवका बारेमा माओवादी केन्द्रमा विवाद रहदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *