नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन्। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाइने बताएका हुन्। मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी खोजी गरिरहेको र उनीहरुलाई बिस्तारै ‘ठिक पारिने’ मन्त्री राईको भनाइ छ। ठेक्का लिने, तर समयमा नै काम नसक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछाड्ने मन्त्री राईको भनाइ छ। अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको उनको भनाइ छ। मन्त्री राईले वैकल्पिक सहायक राजमार्गको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गरिने बताए।