३ महिनामा मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंकको सर्वेक्षण
नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ ।
‘९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले अगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्,’ राष्ट्र बैंकले सर्वेक्षण संक्षिप्त विवरणमा भनेको छ, ‘आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ ।’राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।
सर्वेक्षण २०७९ असार २० देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।सर्वेक्षणको नतिजा १ हजार १४१ सहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।