मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार सिंहदबारमा बसेको १३औँ बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेको हो ।
कार्ययोजनामा यस वर्षको मनसुनजन्य विपद्को जोखिम अवस्थाको विश्लेषण तथा प्रभाव आँकलन, मन्त्रालयगत तथा विषयगत क्षेत्रको जिम्मेवारीका साथै आपत्कालीन सञ्चालन कोष तथा सामग्रीको मौज्दात विवरण समेटिएको छ ।
दुई खण्डमा बाँडिएको कार्ययोजनाको पहिलोमा जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलन, विगतका मनसुनको पूर्वतयारी तथा प्रतिकार्यको समीक्षा र मन्त्रालय तथा विषयगत क्षेत्रको जिम्मेवारी समेटिएको छ ।
दोस्रो खण्डमा सङ्घीय मन्त्रालय तथा निकाय र विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना समावेश छ ।