तारा एयरको विमान दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन जाँचबुझ आयोग गठन
तारा एयरको विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।
पर्यटन मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, गैरसैनिक हवाई दुर्घटना जाँच नियमावली, २०७१ को नियम ११ बमोजिम वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमन दुर्घटना जाँच इन्चार्ज रहने गरी देहाय बमोजिमको दुर्घटना जाँच आयोग गठन गर्ने नेपाल सरकारमा मन्त्रिस्तरबाट मिति २०७९/०२/ १६ मा निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा रहेका सबै २२ जनाको मृत्यु भएको छ ।