बलात्कारको हदम्यादबारे पुनर्विचार गर्ने पक्षमा आफू रहेको प्रधानमन्त्री देउवाको भनाई
प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार मुद्दामा रहेको हदम्यादबारे पुनर्विचार गर्ने पक्षमा आफू रहेको बताएका छन्।
उनले यसका लागि गृहकार्य भइरहेको र कानुन मन्त्रालयमार्फत कानुन आयोगले अध्ययन गरिरहेको बताएका हुन्।
केही दिनअघि कानुनमन्त्री गोविन्द शर्माले पनि बलत्कारको मुद्दामा कायम रहेको हदम्यादबाट विस्तृत अनुसन्धान गरेर सिफारिस गर्न नेपाल कानुन आयोगलाई जिम्मेवारी दिएको बताएका थिए।
प्रधानमन्त्री देउवाले पनि सोही कुरा बताएका छन्। उनले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताए।
बुधबार नेपाली कांग्रेसका महिला नेतृहरूको ध्यानाकर्षण बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न महिला सांसद र नेताहरू पुगेका थिए।
उनीहरूले बलत्कारको मुद्दामा रहेको हदम्याद हटाउन कानुनी सुधार गर्न माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने विषयमा आफू सकारात्मक रहेको र अनुसन्धानपछि यसमा कदम चालिने बताए।