चुनावी तालमेलका लागि सत्ता गठबन्धनले बनाए यी आधारहरू,के अब सबै मिल्यो ?
सत्ता गठबन्धनले उमेदवार सिफारिस गर्न स्थानीय तहमा चुनावी तालमेलका लागि मापदण्ड बनाएको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले उमेदवार सिफारिस गर्न लिखित मापदण्ड बनाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् ।
सिट बाँडफाँटका सात आधार
१। २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।
२। २०७४ निर्वाचनमा दलका उम्मेदवारहरूले पालिका र वडामा प्राप्त मतको मत भार ।
३। २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने।
४। २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसका साथै उक्त तहमा दलका उम्मेदवारहरूले प्राप्त गरेको भरलाई पनि आधार बनाउने ।
५। नेकपा एकीकृत समाजवादी २०७४ को निर्वाचनमा उक्त पार्टीको रूपमा नभएको हुँदा बुँदा नम्बर ४ मा उल्लेखित आधारहरूले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।
६। गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरूका अतिरिक्त वर्तमान समय गठबन्धनका दलहरूको संगठनात्मक अवस्था जनसमर्थनलाई महत्वका साथ ध्यान दिने ।
७। गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्ने ।