विभिन्न प्रकारका प्राकृतिक विपतमा परेर यो वर्ष ५०४ को मृत्यु
गएको एक वर्षमा विभिन्न प्रकारका प्राकृतिक विपतमा परेर ५०४ को मृत्यु भएको छ । ०७८ वैशाख १ देखि चैत २९ सम्म विपद्का प्रमुख घटनामा उनीहरूको ज्यान गएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्टले यस्तो जानकारी दिएको हो ।
प्राधिकरणको रिपोर्ट अनुसार एक वर्षमा ७६ जना बेपत्ता भएका छन् । विशेषगरी प्राधिकरणले १५ शीर्षकमा दुघर्टनाका रिपोर्ट सार्वजनिक गरी घटनाबारे जानकारी दिएको हो ।
जसमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी, जनावर आतंक, महामारी, हिउँ हुरी, हिम पहिरो, लेक लाग्नु, डुंगा पल्टेर र भूकम्प रहेका छन् । यी शीर्षकमा ३ हजार ८९६ घटना घटेका छन् । यसैगरी, १ हजार ७७७ मानिस यी दुघर्टनामा परी घाइते भएका छन् भने यी घटनाहरूबाट ६ हजार १२९ परिवार प्रभावित भएका छन् । यसवर्ष सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । जसमा २ हजार ३६३ घटना घटेको तथ्यांक छ ।
सबैभन्दा बढी परिवार २ हजार ८४० पनि आगलागीकै घटनाबाट प्रभावित भएका छन् । भूकम्प र महामारी शीषर्कमा दुई/दुुई वटा घटना घटेका छन् भने मृत्यु हुनेमा सबैभन्दा बढी पहिरो रहेको छ । पहिरोका ३४४ घटनामा १८२ जनाको ज्यान गएको छ । यी सबै प्राकृतिक विपतबाट २ अर्ब ६१ करोड भन्दा बढीको क्षतिको अनुमान गरिएको छ ।