चालू आर्थिक वर्षको सात महिनामा १२ अर्ब रुपैयाँ भन्दा बढीको चाँदी आयात
चालू आर्थिक वर्षको सात महिनामा १२ अर्ब रुपैयाँ भन्दा बढीको चाँदी आयात भएको छ । यस अवधिमा १ लाख ३४ हजार भन्दा बढी केजी चाँदी आयात भएको छ । जुन १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँ बराबरको हो । जसबाट एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट नेपालमा चाँदी आउने गरेको छ । चालू आवको भदौ महिनामा सबैभन्दा बढी चाँदी नेपाल भित्रिएको छ ।यस महिना ४२ हजार ९५२ केजी चाँदी आयात भएको छ । जसबाट सरकारलाई ३६ करोड ५० लाख ९२ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।त्यस्तै, चालू आवको पुस महिनामा भने सबैभन्दा कम चाँदी आयात भएको छ । यस महिना ६ सय केजी मात्र सुन नेपाल भित्रिएको छ । जसबाट ६४ लाख २० हजार रुपैयाँ मात्र राजश्व संकलन भएको छ ।
भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २६ हजार २ सय केजी चाँदी नेपाल भित्रिएको छ । जसबाट सरकारलाई २२ करोड २७ लाख रुपैयाँ राजश्व प्राप्त भएको छ । त्यस्तै, असोज महिनामा ३८ हजार ७५७ केजी चाँदी आयात हुँदा ३२ करोड ९४ लाख ३५ हजार राजश्व संकलन भएको छ ।
त्यसैगरि, कार्त्तिक महिनामा २१ हजार ५ सय केजी चाँदी आयात भएको छ । जसबाट सरकारलाई २३ करोड रुपैयाँ राजश्व प्राप्त भएको छ । तर, कार्त्तिक महिनाको तुलनामा मंसिर महिनामा भने चाँदी आयात घटेको देखिन्छ । यस महिना तीन हजार केजी मात्र चाँदी आयात भएको छ । जसबाट ३२ करोड एक लाख राजश्व संकलन भएको छ ।
माघ महिनामा विभिन्न देशबाट एक हजार २८१ केजी चाँदी नेपाल भित्रिएको छ । जसबाट एक करोड ३७ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।