राजकीय सम्मानका साथ लता मंगेशकरको अन्त्येष्टि
स्वर कोकिला उपनामले चिनिने सुप्रसिद्ध गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
आइतबार साँझ मुम्बईको शिवाजी पार्कमा गायिका लताको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको हो । लताको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।कोरोना संक्रमण तथा निमोनिया भएपछि उनको उपचार भइरहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विभिन्न प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, विभिन्न दलका नेताहरू, बलिउडका कलाकार, गायक, गायिका, संगीतकारलगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
गायिका लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ तारिखमा मध्यप्रदेशको इंदौरमा भएको थियो । लता मंगेशकरलाई सबैभन्दा बढी गीत रिकर्ड गराउने गौरव पनि प्राप्त छ । उनले हिन्दीसहित अन्य थुप्रै भारतीय भाषामा गीत गाएकी छन् । केही नेपाली भाषाका गीत पनि लताले गाएकी छन् ।
उनलाई भारतीय सरकारको सबैभन्दा ठूलो अवार्ड भारत रत्नबाट सम्मान गरिएको थियो । त्यस्तै, भारत सरकारले दुई पटक पदमश्री, दादा साहेब फाल्के पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको थियो ।लताको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।