निफको पाँचौँ संस्करणमा ३८ देशका ८९ फिल्म छनोट
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत १० गतेदेखि हुने भएको छ। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै पाँचौँ संस्करण चैत १० गतेदेखि १४ गतेसम्म हुने जानकारी दिएको हो।
यस वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर र सर्ट फिल्म लागि आवेदन खुलाइएको थियो। जसमा ५५ देशका ४०० बढी फिल्महरुले आवेदन भरेका थिए। तर फेस्टिभलमा ३८ देशका ८९ फिल्म मात्रै छनोट गरिएको संस्थाका अध्यक्ष केपी पाठकले बताए।‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ।
यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पचार हजार नगद पुरस्कार प्रदान गरिनेछ।त्यसैगरि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड दिइने छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विजोट अवार्ड’ प्रदान गरिनेछ।