नक्कली ज्वाइँ खडा गरेर सरकारले बदनाम गराउन खोज्यो : केपी शर्मा ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफुलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका छन् ।
आइतबार झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा रहेकाले भ्रष्टाचार छोप्न नक्कली ज्वाइँ खडा गरेर आफुलाई बदनाम गराउन खोजेको टिप्पणी गरेका हुन् ।नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको उनले बताए । ओलीले सरकारले नारायणहिटीलाई निल्न खोजेको र जनता कराएपछि भाग्न बाध्य भएको उल्लेख गरे ।
त्यस्तै उनले जनादेशबाट परमादेश भएको यो ‘म्यादी सरकार’ भएको भन्दै अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउने धारणा राखे ।सहिद मनोज झपेन्दै स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन पश्चात् ओली कमल गाउँपालिका– ७ स्थित गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षण गरेका थिए ।