आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग
सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी गरेको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपिलयाले बुधबार धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’ मा सरकारले मिति नतोके पनि आयोग आफ्नो तयारीमा जुटेको जानकारी दिए ।उनले स्थानीय सरकार रिक्त रहने परिकल्पना नगरिएको भन्दै स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु अगावै चुनावको तयारी भएको बताए । उनले आयोगले वैशाख २० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति सिफारिस गर्ने तयारी गरेकोसमेत बताए ।
निर्वाचन आयोगले हाल मतदाता नामावली संकलनको काम गरिरहेको छ ।तर, हालसम्म सरकारले चुनावको मितिबारे भने कुनै छलफल अगाडि बढाएको छैन ।