तथ्यांक संकलन कार्यलाई प्रभावित नपार्न तथ्यांक विभागको आग्रह


केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्यांक संकलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेको छ ।

विभागले मंगलबार एक विज्ञप्ति जारी गरी कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका–२०७७ को पूर्णपालना गर्न सम्बन्धित सबैमा आग्रह गरेको हो ।यही कात्तिक २५ बाट सुरु भएको र आगामी मंसिर ९ गते समापन हुने जनगणनामा केही व्यक्ति तथा संस्थाबाट व्यक्त स्थलगत तथ्यांक संकलन कार्यमा संलग्न केही गणकको कामबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने खालका विचार तथा केही व्यक्ति तथा संस्थाले उत्तरदातालाई आफ्नो संस्थागत निर्णयअनुरूपको उत्तर दिन लिखित वक्तव्य प्रसारण गरिएका विषयमा विभागले ध्यानाकर्षण भएको जनाएको हो ।

जनगणना प्रश्नावलीलाई अन्तिम रूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैंगिक, अपांगता तथा अन्य सरोकारवाला समुदायरसंघ-संस्था र विषय विज्ञसँग पटकपटक छलफल गरिएको र प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिम रूप दिने कार्य भएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *