प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ ।
राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा जलवायु परिवर्तन र कोरोना भाइरसको महामारीको असर कम गर्ने तथा महामारीपछिको पुनर्उत्थानमा दुबै देश मिलेर अघि बढ्नेबारे छलफल भएको भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाएका छन् ।भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्नेबारे छलफल भएको देउवाले ट्वीटमार्फत जनाएका थिए ।


