निरन्तर घट्दैछ तापक्रम,के सुरु भएकै हो जाडो ?
केही दिन यता तापक्रम घट्न थालेको महसूस हुन थालेको छ । बिहान र बेलुका चिसो हुन गरेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।
मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान १३.५ डिग्री सेल्सियस थियो भने बिहीबार बिहान १२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब रातको समयमा आकाश खुला हुने र सित पर्ने हुँदा चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मान्धर बताउँछिन् ।
हिमपात सुरु भएसँगै तापक्रम घट्ने क्रम सुरु हुने उनको भनाइ छ । उच्च पहाड र हिमालमा हिमपात हुन सुरु भइसकेको छ ।
मनसुन सकिएपछि पश्चिमी बायु सक्रिय हुने र उत्तरबाट हावा आउने भएकाले चिसो अनुभव हुने उनी बताउँछिन् । “सूर्य दक्षिणायण हुन सुरु भएकाले अब तापक्रम घट्दै जान्छ । अक्टोबर र नोभेम्बर जाडो र गर्मीको ट्रान्जिसन फेज हो,” मौसमविद् मानन्धर भन्छिन्, “नोभेम्बरको मध्यबाट भने जाडो हुन्छ । डिसेम्बरबाट निकै धेरै चिसो हुन्छ ।”