सरकारले प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने
सरकारले एक पटक मात्र प्रयोग हुने पातलो प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारले यो अभियान सञ्चालन गर्न थालेको सरकारी अधिकारीले बताएका छन् ।
४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाले वातावरणीय प्रदूूषण बढाएको र जथाभावी फ्याँक्ने प्रवृत्तिले माटोभित्र पनि नकुहिने भएकाले त्यस्तो खालको प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने योजना सरकारले बनाएको छ ।
४० माइक्रोनभन्दा बढीको पुनः प्रयोग गर्न मिल्ने वा प्लास्टिकको विकल्पमा कपडा वा कागजको झोलालाई प्रोत्साहन गर्ने गरी सरकारले यो योजना अघि बढाउन थालेको छ ।
त्यसका लागि वातावरण विभागले कार्ययोजना तयार पारेको छ । कार्ययोजना स्वीकृत भएपछि यो अभियानको काम थालनी गरिने विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले बताए ।