बुद्धभुमि नेपाल हाइड्रोले असोज ११ देखि आइपीओ बिक्रि गर्ने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण्मा कुल रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कुल कित्तामध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
यो शेयर छिटोमा असोज १४ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको यो आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले स्थानिय सहित सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।