संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ :प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् ।
सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । मुलुकको अग्रगामी परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरेका छन् ।
“कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भई संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ,” शुभकामना सन्देशमा उल्लेख छ ।