अब महाधिवेशनमा एकजुट हुनुपर्ने पौडेल समूहको निष्कर्ष
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको माग पूरा हुने सुनिश्चित भएकाले अब महाधिवेशनमा एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।
धर्नामा बस्दै आएका जिल्ला सभापतिहरु पनि सहभागी भएको पौडेल पक्षको बैठकले संस्थापन पक्षले माग पूरा गर्ने पक्रिया थालेकाले अब एकजुट भएर महाधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय भएको नेता प्रकाशमान सिंहले जानकारी दिए ।क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने तथा जिल्ला सभापति उठ्नेको मापदण्ड एउटै हुनुपर्ने मागसहित आन्दोलित भएकाहरुको आंशिक माग पूरा भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे पूर्वमहामन्त्री सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान छलफल भएको थियो ।
‘भदौ १८ मा देशभरका सबै ६ हजार ८४३ वटै वडामा अधिवेशन शुरू गर्न संस्थापन पक्ष तयार भएको छ, ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण पनि सार्वजनिक हुन थालेको छ’, सिंहले भने,’बाँकी जिल्लाको पनि क्रमश सार्वजनिक गर्न दबाब दिँदै अब महाधिवेशनमा एकजुट हुन जिल्ला सभापतिहरुलाई अनुरोध गरिएको छ ।’