चार कम्पनीको संस्थापक शेयर आजदेखि विक्रीमा
प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर भदौ ११ गतेदेखि विक्रीमा आएको छ । क्यापिटलले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता शेयर भदौ २५ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।
क्यापिटलले प्रभु बैंकको प्रतिकित्ता रू। १८५, नेशनल लाईफको प्रतिकित्ता रू। ४३७, नेपाल ग्रामिण विकास लघुवित्तको प्रतिकित्ता रू। ४५५ र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू। २०८ मूल्य तोकेर उक्त शेयर विक्रीको आव्हान गरेको हो । यी शेयर खरिद गर्न चाहनेहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।
यी शेयर सम्बन्धीत कम्पनीहरुको विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संघसंस्थाहरुले खरिद गर्न पाउने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा भदौ ११ गतेपश्चात प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न सक्नेछन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।