लक्ष्मी बैंकले १ बर्षमै कमायो १ अर्ब ५४ करोड, खुद नाफामा पनि वृद्धि
लक्ष्मी बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकलेले आर्थिक वर्ष २०७७/७८ अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको हो । बैंकको खुद ब्याज आम्दानी घटेपनि सो अबधिमा खुद नाफामा भने ९ दशमलव २० प्रतिशतको वृद्धि भएको छ ।बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ दशमलव ०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३ दशमलव ६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७ दशमलव ६६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७ दशमलव ४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ३२ पैसा रहेको छ।