तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन


संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको सोमवार सिंहदरवारमा बसेको बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षति र त्यसबाट विस्थापितहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

सो आयोजनामा आएको बाढीका कारण विस्थापित भएका नागरिकहरुलाई तत्काल सुरक्षित बसोबाससहितको राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। बैठकमा आयोजनामा बाढीका कारण पुगेका क्षतिबारे खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य र आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले समितिलाई जानकारी गराएका थिए।

खानेपानी मन्त्रालय र सम्बन्धित आयोजनाका पदाधिकारीहरुबाट सो आयोजनाको जानकारी लिएपछि समितिले आयोजना क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न पनि सरकारलाई सचेत गराएको छ। बैठकले आगामी दिनमा सो आयोजनामा क्षति नहुने गरी भौैगर्भिक अध्ययन गराउन विज्ञहरुलाई परिचालन गर्न पनि सरकारलाई सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *