बिग्रिएका केही मान्छेहरूले धोका दिएर प्रतिपक्षमा ल्याए : केपी शर्मा ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताएका छन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताए ।
नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उनको दाबी छ । आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उनले बताए । “केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो,” उनले भने ।पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रूपमा योगदान गरेको उल्लेख गरे ।
एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरिरहेको अध्यक्ष ओलीको भनाइ छ ।