सन्देहमा राष्ट्रपति कार्यालय,संविधानको धारा उल्लेख नगरी कसरी नियुक्त ?
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छिन्।
सोमवार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन भएका देउवालाई २७ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
सर्वोच्चको परमादेशअनुसार राष्ट्रपति भण्डारीले मंगलवार देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गरेकी हुन्।
नियुक्ति गर्दा राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा भने उल्लेख गरिएको छैन। विज्ञप्तीमा सर्वोच्चको संवैधानिक इजलासको फैसला बमोजिम मात्रै भनिएको छ।
मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था संविधानको धारा ७६ मा उल्लेख छ। यसअघि प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्दा धारा ७६ (२), ७६ (१), ७६ (३) बमोजिम भनेर उल्लेख गरिएको थियो। तर यसपटक देउवालाई नियुक्त गर्दा फैसला बमोजिम मात्रै उल्लेख गरिएको छ।
संविधानको धारा विज्ञप्तिमा उल्लेख नभएपछि धेरैले यसमा चासो राखेका छन्। राष्ट्रपतिले यस्तो गर्न मिल्छ भनेर प्रश्न गरिरहेका छन्। यसविरुद्ध फेरि अदालतमा रिट पर्ने हो कि भन्ने पनि चासो देखिएको छ।