वायुसेवा निगमको निजीकरण,प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित खेल
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको निजीकरण प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित खेल भएको आरोप लगाएका छन् ।
उनले आइतबार बिहान एक अपिल जारी गर्दै यस्तो काम नगर्न सुझाव दिएका छन् ।“नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट जुन प्रपञ्च हुन गइरहेको छ, त्यो अत्यन्त निन्दनीय र घृणित रहेको छ,” भट्टराईले भनेका छन्,।
“यसको भित्री अभिष्ट भनेको उनको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको छ । क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ? आफू सरकारमा रहने अनि आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने जुन षड्यन्त्र भैरहेछ त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन ।
यसको पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेका छन् । के ओली सरकारसँग त्यसको जवाफ छ ? ”
भट्टराईले अहिले नै निगमको ऋण दायित्व रु ४६ अर्ब पुगिसकेको बताउँदै यसबाहेक पनि अन्य अर्बौं रकम दायित्व रहेको बताएका छन् ।