स्पेनलाई हराउँदै इटली फाइनलमा
उपाधिको दाबेदार स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्दै उपाधिनजिक पुगेको हो ।पेनाल्टीमा इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेली भने गोल गर्नबाट चुके ।
यता स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
पेनाल्टी अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।यस्तै खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।