यातायात व्यवसायीले २१ गतेसम्म सरकारलाई पर्खने, त्यसपछि भने गाडी कुदाउने
असार २१ गतेसम्म सबैखाले सार्वजनिक सवारीसाधन नचल्ने भएका छन् । काठमाडौँ जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो ।
असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतःस्फूर्त रूपमा असार १८ गतेदेखि देशव्यापी रूपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहतका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय मागेका थिए । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरू तत्कालका लागि १८ गते देखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।