उपत्यकामा जोरबिजोर गरेर सार्वजनिक सवारी साधन संचालनमा
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै जोरबिजोरमा सार्वजनिक सवारी साधन संचालनमा आएका छन्। करिब दुई महिनापछि सडकमा २५ सिटभन्दा धेरै धएका बस गुड्न थालेपनि सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन्।
जोरबिजोर प्रणाली अनुसार एक दिन बिराएर सवारी साधन संचालन गर्न पाएपनि काठमाण्डौ महानगरपालिकाले खुल्लामञ्चस्थित बसपार्क हटाएपछि मर्कामा परेका गुनासो चालकहरुको छ। सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी संचालनका लागि आवश्यक इन्धन पुराउन पनि धौंधौ भएको उनीहरुको गुनासो छ।
महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुँडिखेल वरपरि घुमेको घुमेई गर्नुपरेको चालकहरु बताउँछन्। उनीहरुले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाए। बुढानिलकण्ठ रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न सरकारले जति भने पनि आफुहरुको दुख नसुन्ने गरेको बताउँछन्।