जातीय विभेदमा राज्य एउटा पक्षमा उभिन मिल्छ ?
रुपा सुनारलाई घरभाडामा नदिएर जातीय विभेदको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संरक्षण दिएकोप्रति नेपाली कांग्रेसले प्रश्न गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जातीय विभेदको मुद्दा चल्ने आधार नभएको भन्दै आरोपी प्रधानलाई रिहा गरेपछि उनलाई शिक्षामन्त्री श्रेष्ठले भेटेका थिए ।
मन्त्री आरोपीको पक्षमा उभिएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, ‘जातीय विभेदमा मन्त्रीको साइरन बजाउँदै राज्य एउटा पक्षमा उभिन मिल्छ?’
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
उनले प्रश्न गरेका छन्, ‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनुपर्छ प्रधानमन्त्रीज्यू ? हिजो गिटार बजाउँदै समानताको गीत गाउँदै, आज गाडी गुडाउँदै, मन्त्रीको साइरन बजाउँदै राज्य एउटा पक्षमा उभिन मिल्छ ? जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिने ?’