१८ कम्पनीको साढे ५ अर्बभन्दा धेरैको आईपीओ बिक्रीमा आउंदै
पछिल्लो डेढ वर्षदेखि धेरै कम्पनीहरु आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन्। बोर्डको अनुसार अहिले १८ वटा कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख ३३ हजार ४०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न आवेदन दिएका छन्। यी कम्पनीहरुले कुल ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेका हुन।
अहिले कतिपय साधारण लगानीकर्ताको प्रश्न यही हुन्छ कि अब नयाँ आईपीओ कहिले आँउछरु र कति कित्ता पर्छरु गत एक वर्षमा नै डिम्याट खोल्ने लगानीकर्ताको संख्या झण्डै दोब्बर भएको छ। जसले गर्दा कम्पनीहरुले सानो परिमाणमा बिक्रीमा ल्याएको आइपिओ १० कित्ता पर्न पनि भाग्य कै भर पर्नुपर्छ। यसरी प्राथामिक बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा आईपीओ बिक्री गर्ने कम्पनीहरु समेत बढेका छन्।
अहिले आईपीओको पाइपलाइनमा करिब ४ वर्ष अघि नै आवेदन दिएको मैलुङ खोला जलविद्युत समेत रहेको छ। उसले २०७४ असोज २० गते ७ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएको थियो।
यसैगरी, हिमालयन हाइड्रोवपावरले पनि २०७६ कार्तिक २७ गते नै आईपीओ जारी गर्न आवेदन दिएको थियो भने विन्दबासिनी हाइड्रोपावरले समेत २०७६ माघ १ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको थियो।आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।