एनसीसी बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले असार २ गते बुधवारदेखि ९ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर असार १६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १४० तोकिएको छ ।
तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असार १७ गते विहन ११ बजे एनआईविएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने जानकारी बैंकले गराएको छ ।
यो शेयर खरिद गर्न चाहनेहरुले गोप्य शिलबन्दी बोलपत्र विक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेडमा प्राप्त गर्न र बुझाउन सक्नेछन् ।