उपत्यकामा एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा लम्बिने
काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म लम्बिने भएको छ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिने उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन् ।
यसैबीच, कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञा असारदेखि खुकुलो बनाउने तयारीमा उपत्यकाका तीन प्रशासन कार्यालय जुटेका छन् । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा धेरै समयदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाइदिन माग गर्दै आएका छन् ।
काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् । ‘‘
उपत्यकाको संक्रमणदर घट्दै गएको छ । अब जनजीवनमा सहजीकरण गर्दै लैजानुपर्छ,” मेयर शाक्यले भने, ‘‘उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गरिनुपर्छ । निषेधाज्ञा एकैपटक नखोली चरणवद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ ।”
एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । जिल्ला प्रशासन कार्यालय भने निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् । तर, कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालाहरुसँग छलफलमै रहेको प्रशासनका अधिकारीहरुले बताएका छन् ।