उपचार र राहतमा केन्द्रित हुनुपर्नेमा सरकार,सत्ता मात्र जोगाउन लागि परेको छ
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार कोरोना भाइरसको रोकथाम, उपचार र राहतमा केन्द्रित हुनुपर्नेमा सत्ता मात्र जोगाउन लागि रहेको बताएका छन् ।
“सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहन पर्छ भन्ने मात्र भएकाले जनताको आवश्यकता र पिरमर्काहरू गौण हुन पुगेका छन्,” देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएका विभिन्न सहयोगको सरकारले दुरुपयोग र पार्टीकरण गरिरहेको आरोप पनि लगाएका छन् । त्यस्ता काम रोके कारोना नियन्त्रणका केन्द्रित हुन उनका आग्रह छ ।
“देशको हरेक गाउँ र नगरपालिका र वडा तहसम्म पीसीआर परीक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न,” विज्ञप्तिमा छ, “निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु ।” विज्ञप्तिमा भनिएको छ।