सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने ९मर्जर० तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम उक्त सम्झौता भएको हो ।
सम्झौतामा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने बैंकले जनाएको छ । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछि १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।
नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७/०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको पनि बैंकले जनाएको छ । २०७८ साल जेठ ९ गते सम्मको तथ्याङ्कको आधारमा प्राप्तिपछि निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।