कोरोना प्रभाव : गोदाममै थन्कियो ४ अर्ब रुपैयाँको तयारी कपडा
गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् । कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण कपडा विक्री हुन नसकेर गोदाममा थन्किन पुगेको हो ।
गर्मी मौसमका कपडा बढी विक्री हुने समय वैशाख महिनामा महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि अर्बौं रुपैयाँको सामान गोदाममा थन्किन पुग्दा व्यापारीहरू निराश हुन पुगेका छन् । गतवर्ष पनि गर्मी मौसम शुरू हुनै लाग्दा बन्दाबन्दी शुरू भएकाले करीब ३र४ अर्ब रुपैयाँको गर्मी मौसमका लागि आयात गरिएका तयारी कपडा व्यापारीहरूका गोदाममै थन्किएको थियो । यस वर्ष पनि त्यही प्रक्रिया दोहोरिएको नेपाल–चीन व्यापारमा संलग्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले बतााए ।