नयाँ सरकार गठनका लागि दुईजनाको दाबेदारी पेश,कसले जित्ला सत्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनका लागि दुईजनाको दाबेदारी पेश भएको छ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।
संसदमा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै आधार नभएको भन्दै प्रधानमन्त्री ओली आफैले बिहीबार वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गर्ने भन्दै राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यसकै आधारमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्रीमा दाबी गर्न आज ५ बजेसम्मको समय दिएकी थिइन्।
प्रधानमन्त्री ओलीले आजै शीतल निवास पुगेर फेरि प्रधानमन्त्री पदको दाबी गरेका छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ गरि १५३ जना सांसदको समर्थन रहेको भन्दै ओलीले फेरि प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन्।
यस्तै, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम समूह) र नेकपा (एमाले) माधव नेपाल समूहको साझा उम्मेदवारका रुपमा कांग्रेस सभापति देउवाले दाबी पेश गरेका हुन्। देउवाले आफूलाई १४९ सांसदको समर्थन रहेको भन्दै दाबी पेश गरेका हुन्।