काठमाडौं बन्यो नेपाल सुपर लिगको पहिलो सिजन च्याम्पियन
काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो।
जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। सुरुबाटै आक्रमक देखिएको काठमाडौंले पटकपटक आक्रमण गरेको थियो। खासगरी मेसोके र स्टेफिन बिनोङको पटकपटकको उत्कृष्ट प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले रोकिदिएका थिए।
उता धनगढीका सर्वाधिक गोलकर्ता ओलावाले अफिज चोटका कारण चल्न सकेनन् भने आक्रमण राम्रो बुनेर पनि धनगढी फिनिसिङमा पटकपटक चुकेको थियो।
प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै, प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको थियो।
जारी प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक आमनेसामने भएका थिए जसमा काठमाडौंले जित निकाल्दै उपाधि आफ्नो पक्षमा पार्यो।
प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, प्रशिक्षक, इमर्जिङ प्लेयरलगायत विभिन्न विधाबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।